
काठमाडौं । सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङ सदरमुकाम दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडकखण्ड ६ महिनाका लागि बन्द गरिएको छ ।
गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड बन्द भएको हो ।
यसले पूर्वी तराई हुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडकमार्गमा यातायात सेवा बन्द हुन पुगेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ ।
पुल निकालिएको ठाउँमा ६ महिनापछि पुनः अस्थायी बेलिब्रिज जडान गरिने छ । उक्त स्थानमा रौता रुक्मणि निर्माण कम्पनी प्रालीले बेलिब्रिज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ ।
उक्त सडकखण्डमा सम्पूर्ण यातायातका साधन बन्द हुँदा दैनिक खाद्यान्न ढुवानी र उपभोग्य वस्तु आपूर्तिमा समस्या आएको छ ।
खोटाङको दक्षिणी क्षेत्र र तल्लो पूर्वी क्षेत्रका जनताले दैनिक उपभोग्य वस्तु प्रायः विराटनगर, धरान, इटहरी, सप्तरी र उदयपुरको गाईघाटबाट दिक्तेल सडक हुँदै ढुवानी हुने गरेको छ ।
सुनकोसी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ११ बर्ष बितिसक्दा पनि ४० प्रतिशत काम सम्पन्न हुन सकेको छैन ।
सुनकोसी नदीमा पक्की पुल निर्माण सम्पन्न नहुँदा २०७० देखि हिउँद समयमा अस्थायी बेलिबृज प्रयोग हुँदै आएको थियो । सोही बेलिबृज वर्षायाममा खोल्ने र हिउँदमा जोड्ने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्