
काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको खुलासा गर्नुभएको छ ।
तत्कालीन शिक्षामन्त्री समेत रहनुभएका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरे पनि उहाँले नै आफू प्रधानमन्त्री रहेकै बेला सो पुस्तक सार्वजनिक गर्न रोक लगाएको खुलासा गर्नुभयो ।
शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पोखरेलले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको उहाँले बताउनुभयो । राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि उहाँले ओलीलाई सचेत गराउनुभयो ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
नेता पोखरेलले मुलुकलाई दिगो विकाससहित समृद्ध बनाउने र त्यसका लागि आवश्यक जनशक्ति प्रक्षेपण गर्ने काम पनि नीति तथा कार्यक्रममा नआएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्