
नवलपरासी । कारागार कार्यालय नवलपरासीबाट १२ जना कैदीबन्दीकाे सजाय मिनाहा भएकाे छ।
१५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कैदीबन्दीले सजाय माफी मिनाहा पाएका कैदीहरुमध्ये नवलपरासीमा रहेका १२ जना पनि कारागार मुक्त भएका हुन् । मिनाहा पाएर मुक्त हुनेमा सवारी ज्यानका ५, बहुविवाह ४, ज्यान मार्ने उद्योग १, कर्तव्य ज्यानका १ र गर्भपतन मुद्दाका १ जनाले कैद सजाय मिनाहा पाएको कारागार कार्यालयका जेलर जगत बहादुर बस्नेतले जानकारी दिनुभएकाे छ ।
मिनाहा पाउनेमा ४० प्रतिशत कैद भुक्तान गरेका १ र ५० प्रतिशत कैद भुक्तान गरेका ११ जना रहेको उहाँले बताउनुभएकाे छ। सवारी ज्यानमा कैद माफी पाउनेमा पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–५ का सन्तबहादुर महतो, गोरखा आरुघाट–५ का सुमन गुरुङ, रुपन्देही ओमसतिया–६ का पुण्टे तेली, पूर्वी नवलपरासी हुप्सेकाट– १ का शिवबहादुर परियार र रुपन्देही बुटवल–४ का सुनिल गुरुङ रहेका छन् । त्यस्तै बहुविवाह मुद्दामा मिनाहा पाउनेमा नवलपरासी सरावल–७ का गुल्सन कुमार हरिजन, रुपन्देही गैडहवा–८ का जुना क्षेत्री, नवलपरासी प्रतापपुर–७ का गणेश प्रसाद चौधरी, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–१ का विष्णुबहादुर बिक रहेका छन् ।
त्यस्तै कर्तव्य ज्यानमा पूर्वीनवलपरासी मध्यविन्दु नगरपालिका–१० का टीका प्रसाद रसाइली र ज्यान मार्ने उद्योगमा नवलपरासी रामग्राम नगरपालिका–१६ का सुग्रिम कोहार प्रजापतिले कैद सजाय मिनाहा पाएका छन् । गर्भपतन मुद्दामा कपिलवस्तु वाणगंगा–६ की ३२ वर्षीया महिलाले पनि कैद सजाय मिनाहा पाएकी छन् । १५० पुरुष र २५ महिला गरी कुल १७५ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ५३१ जना कैदीहरू रहेका छन् ।
जसमा ४३१ पुरुष, ७६ जना महिला र ३ जना आश्रीत बालबालिका रहेको नवलपरासी कारागार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्