७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने


91
Shares

काठमाडौं । सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गर्नुभएको हो ।

उहाँले पालको विशष्टिता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गरिने बताउनुभयो ।

त्यस्तै लिम्बू, राई, थारु, गुरुङ, कुमाल, मगर, हायू राजवंशी लगायतका जनजातीका मुख्य थलो सांस्कृतिक रुपमा मिथिला क्षेत्र, आधुनिकताले नछोएका गाउँहरु र ग्रामिण जीवन विशेष प्राकृतिक स्थल तथा भिन्न प्रकारको संस्कृति एवं रहनसहन भएका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ ।

कोभिड १९ महामारीबाट प्रभावित होटल तथा पर्यटन क्षेत्रसम्वद्ध व्यवसायको आर्थिक वर्ष २०७९/०८० को वार्षिक इजाजत र नवीकरण दसतुर छुट दिने व्यवस्था मिलाएको छ भने पर्यटन क्षेत्रको पुनरुत्थानको लागि प्रवाह हुने सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सरकारले स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले बताउनुभयो ।

उहाँले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलको लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो । त्यस्तै सरकारले सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरुको शाहसीक पहिचान झल्कने संग्रहालय स्थापना गर्ने, काठमाडौं महानगरपालिकासँगको सहकार्यमा एक नेवार संग्रहालय स्थापना गर्नुका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने भएको छ ।

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएको छ । त्यस्तै त्रिभूवन विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरेको छ ।

हवाई चाप र यात्रुको विश्लेषणको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य बढाइने, धनगढी विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सम्भाव्यता अध्ययन गरिने र सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाउने घोषणा गरेको छ ।

अर्थमन्त्री शर्माले उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बताउँदै हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ छुट्याएको बताउनुभयो ।