
काठमाडौं । सरकारले आगामी आर्थिक आव २०७९/८० मा शिक्षा क्षेत्रमा बजेट बढाएको छ ।
गत वर्ष सरकारले चालु अािर्थक वर्षको लागि १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्षको लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत केन्द्रमा ७० अर्ब ५ करोड विनियोजन गरेको हो ।
यसैगरी, प्रदेशमा ५ अर्ब ३२ करोड छुट्याइएको छ भने स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै शिक्षामा पहुँच बिस्तार गर्नुका साथै पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनशील र नवप्रवद्र्धनशील मानव पूँजी विकास निर्माण गरिने बताउनुभयो ।
त्यस्तै, प्रदेश र स्थानीय तहको सहकार्यमा रोजगारीमुलक, जीवनोपयोगी, शिक्षा प्रदान गर्न विद्यालय शिक्षा सुधार क्षेत्र कार्यक्रम सञ्चालनमा गर्ने बताउनुभयो । १४ वटा विद्यालयमा संचालन भइरहेको पढ्दै कमाउँदै कार्यक्रमलाई थप १ सय वटा विद्यालयमा बिस्तार गर्न बजेट विनियोजन गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाअन्तर्गत १ हजार २ सय सामुदायिक विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गरिने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सरकारले ८ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, सरकारले दिवा खाजा कार्यक्रमलाइ क्रमशः ८ कक्षासम्म बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा कक्षा ६ सम्म विस्तार गर्ने भएको छ । सरकारले भर्चुअलमाध्यमबाट शिक्षणको व्यवस्था गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न प्रत्येक प्रदेशमा २० वटा विद्यालयको लागि आवश्यक पर्ने इन्टरनेट, डिजिटल बोर्ड र अन्य सामग्री खरिदका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
विद्यार्थीहरुको शैक्षिक नतिजाका आधारमा विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारको लागि प्रधानाध्यापकबाट पेस भएको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट स्वीकृति भएमा सो बमोजिम योजना कार्यान्वयन गर्न ५ लाख रुपैयाँसम्म प्रधानाध्यापकले खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
सरकारले उच्च शिक्षाको अध्ययन अध्यापन कार्यलाई अनुसन्धानमा आधारित बनाउन त्रिभूवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सलेन्सका रुपमा विकास गर्ने भएको छ । डडेल्धुरामा मेडिकल कलेजको प्रक्रिया अघि बढाउने, काठमाडौं बाहेक विभिन्न स्थानमा मेडिकल कलेज स्थापना गर्न सहजीकरण गर्ने, खगोलशास्त्र सम्बन्धी ज्ञान तथा मनोरञ्जनका लागि सरकारी तथा सार्वजनिक जग्गा एकीकृत गरी काठमाडौ महानगरपालिकाको समन्वयमा बहुउपयोगी प्लानिटोरीयम पार्कसहितको संरचना निर्माण गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्