
काठमाडौं, बैशाख ४ । घरमा आमा बित्दा पनि लकडाउनका कारण नेपाल आउन नपाएका दार्चुला शैल्यशिखर नगरपालिका–१ का बासुदेव भट्ट नेपाल आउन पाउने भएका छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भट्टलाई नेपाल आउन दिनका लागि भारततर्फ पत्राचार भइसकेको जानकारी सञ्चारमाध्यमहरुलाई दिएका छन् ।
भट्ट आजै नेपाल आउने भन्दै कुँवरले भने, ‘जिल्ला प्रशासन कार्यालय दार्चुलाका तर्फबाट भारतमा क्वारेन्टिनमा किरिया बसेका भट्टलाई नेपाल आउन दिनका लागि पत्राचार गरिएको छ । त्यहाँका डिएमसँग पनि कुरा भयो । उनले आज बेलुकासम्म प्रक्रिया मिलाएर नेपाल पठाउने प्रतिक्रिया दिएका छन् ।’
गृह मन्त्रालयको अनुमतिपछि स्थानीय प्रशासनले उनलाई नेपाल ल्याउन पहल थालेको थियो । दुई सातादेखि भारतीय भूमिमा क्वारेन्टिनमा बसेका दार्चुलाका भट्टकी आमाको मंगलबार निधन भएको थियो ।
आमाको मृत्युको खबरपछि नेपाल आउन उनले अनेक प्रयास गर्दा पनि नपाएपछि धार्चुला क्वारेन्टिनमै किरियामा बस्नु परेको खबर सञ्चारमाध्यमहरुले सार्वजनिक गरेपछि उनलाई नेपाल आउन दिन सरकारलाई दबाब परेको थियो ।
प्रतिक्रिया दिनुहोस्