
काठमाडौं । आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
मानापाथी हिमालको फेदीमा विमान दुर्घटना भएको हो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन । ।
स्थानीयले खबर गरेपछि हेलिकप्टरबाट दुर्घटनास्थल पुगेको नेपाली सेना र शेर्पा उद्धारकर्मीको टोलीले अहिले घटनास्थलमा शव संकलन गरिरहेका छन् । अहिलेसम्म १६ वटा शव संकलन गरिएको सेनाले जनाएको छ । संकलन गरिएका शव हेलिकप्टरबाट सीधै काठमाडौं ल्याउने तयारी पनि सेनाले गरेको छ ।
ती शवलाई काठमाडौं ल्याउने र आफन्तहरूको जिम्मा लगाउने बताइएको छ । शव नजलेको र चिनिने अवस्थामा रहेकाले शवको पहिचान गर्न सकिने बताइएको छ ।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको सो विमान सम्पर्क बिहीन भएपछि निरन्तर खोजीको कार्य सुरु भइरहेको थियो ।
जहाजमा १३ नेपाली, चार भारतीय, २ जर्मन नागरिक यात्रु थिए भने तीन जना चालक दलसहित २२ जना रहेका थिए । दुर्घटनामा परेको विमान ४३ वर्ष पुरानो भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्