
सिन्धुली । सरकारले निर्माणका लागि उच्च प्राथमिकतामा राखेको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तिब्र गतिमा अगाडि बढाईएको छ ।
सिन्धुली र रामेछाप जिल्लाको सिमा क्षेत्रमा अवस्थित सुनकोशी नदीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी सिन्धुली जिल्लाको मरिण क्षेत्रमा पुर्याई विद्युत उत्पादन गर्ने र सो पानीलाई मरिण हुँदै तराईमा सिंचाईमा पुर्याउने उद्देश्यका साथ सो आयोजनाको निर्माणको थालनी गरिएको हो ।
एक वर्ष पहिले तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास भै निर्माणको कार्य अगाडी बढाईएको बहुउद्देश्यीय आयोजनाको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ कुसुमटारमा टिबिएम मेसिनको बेस लगायतका कामहरु पुरा गरिएका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाको कानढुङग्री र गोलान्जोर गाउँपालिकाको खुर्कोट बीचबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रति सेकेण्ड पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी मरिण क्षेत्रमा पुर्याइ ३१ मेगावाट विद्युत उत्पादन गर्ने र सो पानी हालको बागमती सिंचाई योजनाको नहरबाट तराईका सर्लाही, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लामा सिंचाई सुविधा पुर्याउने सो आयोजनाको लक्ष्य रहेको छ ।
करिब ४६ अर्ब लागत निर्माण हुने यो राष्ट्रकै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणले मधेश प्रदेश आधा दर्जन जिल्लाहरुमा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिचाई सुविधा उपलब्ध हुन सहयोग पुग्ने छ ।
गत आर्थिक वर्षबाट निर्माण सुरु भै आर्थिक वर्ष २०८२/८३ सम्म सम्पूर्ण निर्माणका कार्य सम्पन्न गर्ने लक्ष्य लिईएको सो आयोजनाका कामहरु तोकिएको समय मै सम्पन्न गर्न तिब्रताका साथ अगाडी बढाईएको हो ।
चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ ।
प्रतिक्रिया दिनुहोस्