
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताउनुभएको छ ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताउनुभएको हो ।
उहाँले सरकार दृढतापूर्वक अगाडी बढ्ने बताउनुभयो । मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरु युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताउनुभयो । उहाँले पुरानो जहाज प्रयोग गरेर मानिसको जीवनको खेलवाड गरिएको भन्दै जहाजहरुको पुरै इन्जिनियरिङ सर्वे गरेर मात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताउनुभयो । उहाँले राज्यका कुनैपनि निकाय विकासको सहयोगी हुनुपर्ने बताउनुभयो ।
उहाँले विकास निर्माणको काममा बाधा उत्पन्न हुने किसिमको कुनैपनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले अदालतको फैसलाको पाठको आधारमा निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताउनुभयो । उहाँले विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । यसका लागि आवश्यक परेमा सर्वदलिय सहमती गरेर पनि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेकपा(एमाले)का सांसद भीम रावलले कानून परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताउनुभयो । सर्वोच्च अदालतको आदेश वेवास्ता गरेर भएपनि निर्माण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले निजगढ विमानस्थल बन्न नसेकमा सय वर्ष पछाडी परिने टिप्पणी गर्नुभयो । उहाँले कानून परिवर्तन गरेर भएपनि सो आयोजनालाई छिट्टै सम्पन्न गर्नुपर्ने बताउनुभयो । निर्माण सम्पन्न गर्न नदिने सर्वोच्चको फैसला खारेज गर्ने दिशामा जानुपर्ने उहाँले बताउनुभयो ।
उहाँले निजगढ विमानस्थल निर्माण हुन नदिनु आपत्तिजनक र खेदजनक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्