
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित हुनुभएको छ । बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गर्नुभएको हो ।
बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाउनुभयो । यस्तै, नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गर्नुभयो ।
२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो । उपमेयरमा एमालेकी महेश्वरी राई विजयी हुनुभएको छ ।
उहाँले कांग्रेसकी सरिता राईलाई १ हजार ७ सय २२ मतान्तरले पराजित गर्नुभएको हो । महेश्वरीले १३ हजार ७ सय ३ मत पाउँदा सरिता राईले ११ हजार ९ सय ८१ मत मात्र प्राप्त गर्नुभयो ।
कांग्रेस र एमालेले एक्लै प्रतिस्पर्धामा थिए भने माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । त्रियुगामा कांग्रेस ९, एमाले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ ।
प्रतिक्रिया दिनुहोस्