
कैलाली । धनगढीमा प्रस्तावित गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्यापनको माग गर्दै कैलालीमा दैनिक आन्दोलन भइरहेका छन् । धनगढीबाट एक समूह र गोदावरीबाट अर्को समूहले संयुक्त रुपमा आन्दोलन गर्दे आएका छन् ।
गेटा मेडिकल कलेजको अस्पताल भवन बाहिर विरोधस्वरुप बिरामी चेकजाँच भइरहेको छ । धनगढी र गोदावरीका दुवै समूहले संयुक्त रुपमा स्वास्थ्यकर्मीसहित बिरामी चेकजाँच गरेका हुन् । सरकार मेडिकल माफियाको चङ्गुलमा रहेकाले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनमा ढिलाई हुँदै आएको स्थानीयको आरोप छ ।
मेडिकल कलेज सञ्चालनका लागि संघर्ष समिति सदस्य रबिन पन्तले हाल स्वास्थ्य इमर्रजेन्सी रहेको बताउनुभयो । उहाँले मेडिकल कलेजको इतिहास लामो रहेको बताउँदै मेडिकल कलेजमा अस्पताल र एमबीबीएसको अध्ययन शीघ्र सञ्चालन हुनुपर्ने बताउनुभयो । भौतिक संरचनाको काम ९० प्रतिशत पूरा भएको बताउदै उहाँले गेटामा अस्पताल र अध्ययापन सुरु नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनका लागि आधारभूत संरचना तयार भए पनि सञ्चालनमा ढिलाई भएपछि प्रदेशवासीले संघीय सरकार मेडिकल माफियाको चंगुलमा परेको चुडामणी भट्टको आरोप छ । उहाँले सबै भौतिक संरचना तयार हुँदा पनि अस्पताल र एमबीबीएसको अध्यनका लागि बेवास्ता गरिएको बताउनुभयो । सुदूरपश्चिमको मेडिकल शिक्षाको क्षेत्रमा कोसे ढुङ्गा सावित हुनेगरि योजना निर्माण भएको बताउदै उहाँले मेडीकल कलेजको योजना सरकारको मुख्य राष्ट्रिय गौरबको योजनालाई छाँयामा राख्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो । उहाँले यसमा केही निजी क्षेत्रका मेडिकल व्यवसायीहरुको सहभागिता रहेको जानकारीमा आएको बताउनुभयो ।
मेडिकल विश्वविद्यालय, मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये जुन प्रारुपमा सञ्चालन गरेपनि अस्पताल र कलेज शीघ्र सञ्चालन गर्न माग गरिएको छ । इमेज समाचारका लागि कैलालीबाट बिराज रोस्याराको रिपोर्ट
प्रतिक्रिया दिनुहोस्