११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ब्राजिलका राष्ट्रपतिले गरे आफूसँग विवाद गर्ने स्वास्थ्यमन्त्रीलाई बर्खास्त


0
Shares

एजेन्सी, बैशाख ५ । कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भएपछि ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् ।

दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमण फैलिन नदिने उपायबारे स्वास्थ्यमन्त्री मनडेटाले सरकार एकजुट भएर यो संकट समाधान गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति खुल्लारुपमा राष्ट्रपतिको आलोचना गरेको ठानिएको छ ।

हेनरिकले आफू बर्खास्त भएको आफैंले ट्वीट गरेर जानकारी दिँदै लेखेका छन्, ‘कोरोनाबाट हाम्रो स्वास्थ्य सेवामा भयंकर चुनौती आएको छ । समय छँदै उपाय लगाइएन भने स्वास्थ्य व्यवस्था धरमराउने छ ।’

स्वास्थ्यमन्त्री हेनरिक मनडेटा कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्ने लगायतका नियमका पक्षधर हुन् । उनले आ–आफ्ना प्रदेशमा लकडाउन गरेकामा गभर्नरहरुको प्रशंसा पनि गरेका थिए ।

यस विपरित राष्ट्रपति भने लकडाउन, सामाजिक दुरी लगायतका गतिविधिले जनतामा त्रास फैलिने भन्दै यस्ता नियम लगाउन नहुने पक्षमा छन् । मानिसहरुलाई विना डर त्रास आफ्नो नियमित काम गर्न दिनुपर्ने उनको तर्क छ ।

राष्ट्रपति बोलसोनारोले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भन्दै आत्तिनु नपर्ने बताएका थिए ।

राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेको विरोधमा ब्राजिली नागरिकले भने घरका बार्दलीबाट भाँडा बजाउँदै राष्ट्रपतिको बिरोध गरेका छन् ।

ब्राजिलमा ३० हजार ४ सय २५ जना कोरोना संक्रमित छन् भने १ हजार ९ सय २४ जनाको मृत्यु भइसकेको छ ।