५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


१४ वर्ष बित्दा पनि बेनी–भकुण्डे सडकको अवस्थामा सुधार भएन


208
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका भकुण्डेचौर २ स्थित मोटरवाटोको ट्रयाक खुलेको १४ बर्ष पुग्दापनि यातायातका साधनहरु सञ्चालनमा आउन सकेको छैनन् ।

२०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दुरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन नसकेका हुन् ।

सडकको स्तरोन्नति नहुँदो हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने स्थानीयले गुनासो गरेका छन् ।

बेनी–भकुण्डे सडकको ट््याक खुलेदेखि अहिलेसम्म ट्याक्टर, र मोटरसाइकलबाहेक ठूला सवारीसाधनहरू सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधनहरू पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका २ ज्यामरुककोटका यामबहादुर थापाले बताउनुभयो ।

सडक मर्मतका लागि अहिलेसम्म करिब एक करोड बढी खर्च भइसकेको भए पनि सडकको अवस्था भने झन्झन् खराब हुँदै गइरहेको छ ।

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधनहरू सञ्चालन हुन नसकेका स्थानीयबासिन्दाहरुको भनाई रहेको छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटका निवर्तमान वडा अध्यक्ष हिराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो ।

सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका २ का नवनिर्वाचित वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभएको छ ।