१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ठेक्का लागेको नौ वर्षमा पनि बनेन इलाम र माइजोगमाइ जोड्ने पुल


247
Shares

काठमाडौं । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका जोड्न दुधाङमा पक्की पुल निर्माणको ठेक्का लागेको नौ वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।

२०७१ असार २७ मा ठेक्का सम्झौता भएको पुल २०७४ सालमा नै निर्माण सम्पन्न भइसक्नुपर्नेमा हालसम्म सम्पन्न नहुँदा स्थानीयले सास्ती पाएका छन् । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नहुँदा निराश भएका छन् ।

हिउँदमा खोलाबाट नै गाडी वारपार गर्ने भए पनि बर्खा सुरु भएसँगै खाद्यान्न ढुवानी र बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको छ । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौं सवारी चल्छन् ।

इलाम र नयाँबजार करिब २२ किलो मिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन र जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय तथा सवारी चालकहरू बताउँछन् ।

डिभिजन सडक कार्यालय इलामका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि ०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो । यद्यपि सो समयमा पनि पूरा हुन सकेन ।

यो पुलको एकातर्फ नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो । देश हाक्ने नेताको क्षेत्रमा नै निमार्ण थालिएको वर्षौंसम्म पुल नबन्दा स्थानिय दुःखी छन् ।

पुल निर्माण स्थानीय तह मातहतमा नरहे पनि निर्माण, समन्वय र अनुगमनको कार्यमा भने आफूहरू लाग्ने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको बताउँछन् । स्थानीयको सहजताका लागि आफूहरूले सम्बन्धित निकायसम्म पुगेर खबरदारी गर्ने इलाम नगरपालिकाका मेयर केदार थापा बताउनुहुन्छ ।

इलाम सदरमुकामदेखि माइजोगमाइको केन्द्र नयाँबजारसम्म पुग्ने मोटरबाटो ग्राभेल भएको छ । दःुखसुःख बर्खायाममा पनि सवारी सञ्चालन हुने सडकको बीचमा रहेको खोलामा पुल नहुँदा समस्या हुँदै आएको छ ।

पुल निर्माण भएसँगै इलाम नगरपालिका तथा माइजोगमाई गाउँपालिका हुँदै सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका एवम् भारतका विभिन्न ठाउँका स्थानीयलाई सहज हुनेछ ।