९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


संवेदनहीन शासक र पूर्व–पश्चिम नाप्दै हिंडेका पैतालाहरु


0
Shares

राजन कुईंकेल

संसार नै कोरोना भाइरसको कहर काटिरहेको छ । मानिसहरु घरभित्रै कोचिएका छन् । स्वच्छन्द जाति निस्सासिँदो छ । संसारभर डेढ लाख मानिस कोरोनाकै कारण प्राण त्याग्न विवश भएका छन् । २२ लाख मानिस संक्रमणको चपेटमा आइसकेका छन् । संसारभर नै हुने खाने र हुँदा खानेको भेद यो संकटमा झन् बढेको छ । विवेक, समता र न्यायका आधारमा सत्ता चलाउने शासकहरु आफ्ना जनतालाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने उपाय खोजिरहेका छन् । सक्ने बेलामा तिनै जनताले जम्मा गरेको ढुकुटी, संकटको यो बेलामा तिनकै लागि खर्चँदै छन् ।
संसार विचरण गर्न हिंडेकाहरु जहाँ जहाँ अलपत्र परे, त्यही त्यही पुगेर विशेष (चार्टड) विमानबाटै नागरिकलाई उद्दार गरिरहेका छन् । एउटा नागरिकको आवाजले पनि तिनका लागि महत्व राख्दछ । नागरिकप्रतिको जवाफदेहीता कसरी बहन गर्न सकिन्छ, उपायहरु खोजिरहेका छन् । नसक्दा क्षमा मागिरहेका छन् । पद ओगटेर अफ्ठ्यारो नपार्न कतिले त जिम्मेवारी नै छाडिदिएका छन् ।

तर यही पृथ्वीको अर्को कुनामा रहेको नेपाल देशमा भने संवेदनाहीन शासकहरुको हातमा सत्ता पुगेको भान हुँदैछ । नेतृत्वमा धृतराष्ट्रहरु छन् । अनुचरहरुको जयजयकारमै मस्त छन् । आलोचनाहरु सुन्ने कानमा ठेडी कोचेर हिडेका छन् । संकटका बेला नागरिकलाई सघाउनेभन्दा गुमराहमा पारेर राज्यको ढुकुटीमा ब्रह्मलूट मच्चाउनमै व्यस्त छन् । एक त यसै पनि भ्रष्टाचार र दण्डहीनताको दलदलमा वर्षौवर्षदेखि जाकिएको मुलुक त्यसमा संकटको ताक कुरेर बसेका देशद्रोहीहरु । राणाले १०४ वर्ष राज्यको ढुकुटी आफ्नै बनाए । पञ्चायतमा राजाको निर्दलीयताले चुसेर खोक्रो भएको ढुकुटी, २०४६ सालपछि भोकाएका जुकारुपी दलीयताले लुछेको जीर्ण ज्यान, माओवादी नामक व्यक्तिहत्याको बहानामा ध्वस्त बनाइएको राज्यकोष, गणतन्त्रपछि उम्रेका छिचिमिराहरुले भागबण्डा लगाएर सकाएकै थिए ।

त्यसमा पनि भूकम्प जस्तो प्राकृतिक विपद, नाकाबन्दी जस्तो अमानवीय भारतीय उपहार, राजनीतिका अनेकन रंगमा रंगिएको समाज, जुनसुकै संकटलाई लूटको अवसर खोज्ने सत्ता । अनेकन धक्काबाट माथि उठ्न नपाउँदै आइलाग्यो, कोरोनाको विश्वव्यापी कहर । जनतालाई संकटमा धकेलेर राज्यकोष लूटने मौका खोजिरहेका जुकाहरुलाई यो एउटा अवसर बनेर आइहाल्यो । स्वास्थ्य सामग्री खरिदमा समेत निर्धक्क लूटको साम्राज्य मच्चाइरहेका छन् । ज–जसले आवाज उठाउँछन् तिनीहरुविरुद्ध प्रधानमन्त्री स्वयं जाइलाग्छन् । उनी आफ्ना भ्रष्ट मन्त्री र प्रशासकहरुको बलिया प्रतिरक्षक बनिदिएका छन् ।

देशमा कोरोनाको संक्रमण नफैलियोस् भनेर संसारभरमा झै लकडाउनको घोषणा गरिएको छ । एकाएक गरिएको बन्दाबन्दीले मानिसहरु आ–आफ्ना थातथलो पुग्न पाएनन् । जहाँको त्यही फसेका छन् । देशभित्र रहेका जो जहाँ त्यही रोकिएका छन् । हुनेखानेहरुलाई बन्दाबन्दीले कुने फरक नपारे पनि हुँदा खानेहरु छाक टार्न नसकेर समस्यामा फसिरहेका छन् । आफू बसेको शहर बिरानो बनेपछि उनीहरु पैदलै आफ्नो थातथलो पुग्न कर्मथलो त्यागिरहेका छन् । दैनिक खाली खुट्टा सडकमा भौतिरहेका, महिला, बालबालिकासहितका दुःखी मानिसहरुको चित्कार सुनिन्छ । तर सिंहदरबार र बालुवाटारमा कोरोना लकडाउनको आनन्द काटिरहेकाहरुलाई तिनका पीडाले छुँदैन । उनीहरुलाई सुरक्षित कसरी एक ठाउँबाट अर्को ठाउँ लैजाने भन्नेसम्म विवेक पनि देखाउँदैन ।

बेरोजगारीको भट्टीमा पिल्सिएर विकल्प खोज्न भारतको कालापहाड र विभिन्न शहरमा दरबान हुन पुगेकाहरु त्यहाँबाट लखेटिएपछि देश खोज्दै सीमामा पुगे । सरकार तारबार लगाएर रोक्दैछ । माटो र आफन्तको मायामा डोरिएकाहरुलाई भारतीय सीमामै कैद गरेर राख्न अनुमति दिन्छ सिंहदरवार । महाकालीमा प्राणको बाजी लगाउँदै हेलिएर वारी आएकाहरुलाई डण्डाको बहादुरी देखाएर शासक भएको गर्व गर्छ सत्ता । आमा मर्दा घर आउन रोईकराई गर्ने आफ्नै नागरिकलाई दिल्लीको अनुमति खोज्छ, बालुवाटार । खाडीमा रगत पसिना बेचेर पठाएको रेमिट्यान्सले देश चल्छ । तिनै नागरिक खान नपाएर अलपत्र छन् । तिनलाई देश ल्याउने कष्ट उचाल्न चाहन्न सत्ता । पढ्नका लागि विदेश पुगेका विद्यार्थीप्रति त यिनको घृणा छ जस्तो लाग्छ । मानौं सत्तामा रहेकाहरुको सम्पूर्ण संवेदना मरिसकेको छ ।

आफ्नो माटोमा फर्कन चाहनेलाई बलजफ्ती रोक्नु अमानवीय मात्र होइन ति नागरिकको मौलिक अधिकारको हनन हो । तर सरकारका मुखिया प्रधानमन्त्री भन्छन्, स्वतन्त्रता वा जीवन के रोज्ने हो निक्र्योल गर । हामीलाई यि दुबै प्यारो छ । यो रोज्ने विषय होइन,अन्र्तसम्बन्धित हुन् । हो यस्तो संकटका बेला सबैले सघाउने हो । तर जो बाहिर बस्न सक्ने अवस्थामा छैनन्, तिनलाई आफ्नो देशमा ल्याएर क्वारेन्टिनमा राख्ने, परीक्षण गर्ने, संक्रमण नै देखिए एकान्तवासमा राख्ने व्यवस्था गर्ने जिम्मेवारी कस्को हो ? यसैका लागि त सरकारहरु चाहिएको । यिनै काम गर्न त नागरिकले आफ्ना अधिकार कटौति गरेर राज्यलाई सुम्पेको । तर धृतराष्ट्र शासकहरु त सिनोको ताकमा मौका कुरेर बसेको गिद्धझै व्यवहार देखाउँछन् ।

शुरुका सातासम्म बिना शर्त सरकारले चालेका कदममा सघाएका नागरिक आज सडक सडक भौतारिँदै हिंड्न किन बाध्य भए ? पैताला फुट्ने गरी पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिणका बाटो नापिरहेकाहरु के रहरले यो सब गरिरहेका छन् ? प्रधानमन्त्री ताली पड्काउन र राष्ट्रिय गान गाउने फर्मान त जारी गर्छन् तर तर यी कठोर तथ्यसँग साक्षात्कार गर्न चाहँदैनन् । उनलाई लाग्छ, यो त सरकारलाई विफल बनाउन, आलोचना गर्न चाहनेहरुले गरिरहेको चालबाजी हो । मन्त्रीहरुको किस्सा त अनेकन छँदैछन् । धेरैलाई मौका मिलाएर कमाउनु छ । जनता मरुन् वा बाँचुन्, उनको हिस्सामा पर्ने कमिशन कसैगरी कम नहोस्, चिन्ता यसैमा छ ।

उसोत सत्ताधारीहरु आफै पनि कति न संवेदनशील छन् र ? बीसौं हजार नेपाली दाजुभाई दिदीबहिनीको लाशको पहाडमा चढेर सत्तामा पुगेकाहरुलाई नागरिकको अतिसह्य पीडामा कुन संवेदना ? गिर्दो स्वास्थ्यका कारण प्रधानमन्त्री केपी ओली बालुवाटारको चौघेराभित्र कैद छन् । कोरोनाविरुद्धको यो संघर्षमा संयोजनकारी भूमिकामा रहेका उपप्रधानमन्त्री इश्वर पोखरेल आफै स्वास्थ्य सामग्री खरिदको विवादमा मुछिएका छन् भने तालुकवाला स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उही गति छ । यत्रो संकटका समयमा अभिभावकत्व देखाउन अघि सर्नुपर्ने गृहमन्त्री रामबहादुर थापा न देखिन्छन्, न सुनिन्छन् । मानौं उनी रामराज्यका आदेशपालक मात्र हुन् । के यो देशमा गणतन्त्र सिंहदरबार, बालुवाटार, शितलनिवास, खुमलटार र बुढानीलकण्ठमा रहेर घन्ट बजाउने र ‘कुमार प्रदक्षिणा’ गर्नेहरुका लागि मात्रै आएको हो ?