
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले बजेट कार्यान्वयनमा चुनौति रहेको बताउनुभएको छ ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलमा सहभागी हुँदै उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्नुनपर्ने चुनावी प्रचारको संज्ञा दिनुभयो ।
राष्ट्रिय सभा सदस्य पौड्यालले १२ खर्ब, ४० अर्ब राजश्व उठाउने कुरा हास्यास्पद रहेको बताउँदै आयातमा टिकेको राजश्व आयात घटाउँदा कसरी उठ्छ भन्ने प्रश्न गर्नुभयो ।
उत्पादनमा लगाउने सट्टा वितरणमा लगाउने र बजेटको आकार बढाउने अर्थमन्त्रीको कदम खतरनाक भएको टिप्पणी गर्दै उहाँले यसले श्रीलंकाले अहिले भोगिरहेको परिणाम भोग्नतर्फ नेपाल उन्मुख भएको बताउनुभयो ।
सदस्य पौड्यालले सरकारले वृद्धभत्ताको उमेर हद २ वर्ष घटाएर ६८ पुर्याएकोमा आपत्ति जनाउनुभयो । मुलुक आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने बताउनुभयो ।
पौड्यालले ६८ वर्षमा काम गर्न नसक्ने भनेर वृद्धभत्ता दिने हो भने शीर्ष सबै नेताहरूले काम गर्न छोडेर वृद्धभत्ता लिएर बस्न सुझाव दिनुभयो । उहाँले ५ महिना बाँकी हुँदा यो सरकारले मुलुकमा आर्थिक दायित्व थपेको आरोप लगाउनुभयो ।
सदस्य पौड्यालले राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा राम्रो काम गरिरहे पनि सरकारले बजेट घटाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले राष्ट्रपति उत्थान कार्यक्रमलाई थप विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले बोल्ने क्रम नसकिएकोले राष्ट्रिय सभाको बैठक बुधवार पनि बस्नेछ । बैठक बुधवार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्