९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


यु-१९ महिला क्रिकेट खेलाडीको बिदाई


52
Shares

काठमाडौं । आईसीसी यु-१९ महिला विश्वकप अन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु-१९ टोलीलाई मंगलबार बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो ।

टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगायतको टोलीले बिदाई गरेको छ । बिदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान कीर्तिका मरासीनिले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यकासाथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिनुभयो ।

यसअघि क्यानले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त हुनुहुन्छ । ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताउनुभयो ।

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन् ।

नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुवात गर्ने छ । नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिष्पर्धा गर्ने तालिका रहेको छ भने भुटानविरुद्ध जुन ६ मा खेल्ने छ ।

त्यस्तै, नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्ने छ । शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छ ।