२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


सिँचाइकाे अभावका कारण खेतीयोग्य जमिन घट्दै


117
Shares

पाल्पा । पाल्पाको सबै भन्दा ठूलो अन्न भण्डार मानिने माडीफाँटमा सिँचाइको दीर्घकालीन व्यवस्था हुन नसक्दा खेतीयोग्य जमिन घट्दै गएको छ ।

माडीफाँटमा खाद्यान उत्पादनको प्रचुर सम्भावना भएपनि सिँचाइका लागि ठूला आयोजना तथा परियोजना संचालनतर्फ सरकारको ध्यान नजादा उर्वर भूमी घट्दै गएको हो ।

पाल्पाको सबै भन्दा ठूलो फाँट माडीमा सिँचाइका लागि स्थानीय खोलाको पानीलाई व्यवस्थापन गर्न सकिने वैकल्पिक व्यवस्था भएपनि त्यसतर्फ सरकारले पहल गर्न नसक्दा खेतीयोग्य जमिन आवासीय क्षेत्र र गौचरनमा परिणत हुन पुगेको छ। धान, मकै, गहुँ, दलहन, तेलहन बालीको उत्पादनको प्रचुर सम्भावना भएको यस फाँटमा सिँचाइको सुविधा पुगेको खण्डमा जिल्ला नै खाद्यानको क्षेत्रमा आत्मनिर्भर बन्न सक्नेछ । तर, यस फाँटमा कृषकहरुले आकाशे पानीको भरमा खेती गर्नुपरेको छ । वर्षमा दुई बाली हुने खेतीयोग्य जमिन भएपनि कृषकले पछिल्लो समय जसोतसो एक बाली धान खेतीलाई मात्र निरन्तरता दिँदै आएका छन् ।

पहाडका मुहान फाँट हुँदै तराई तर्फ बग्ने स–साना खोलाको सतह गहिरिँदै जानु र पछिल्लो समयमा वातावरणीय क्षेत्रलाई बेवास्ता गर्दै जथाभावी डोजरको प्रयोग बढ्न थालेपछि पानीको स्रोत हराउँदा फाँटमा सिँचाइको संकट गहिरिंदै गएको हो । सिँचाइको प्रशस्त सम्भावना भएपनि त्यसतर्फ सरकारी क्षेत्रबाट पहल हुन नसक्दा खाद्यान्न उत्पादनमा समस्या भएको र सिँचाइको दीर्घकालीन व्यवस्था गर्नुपर्ने स्थानीय बताउँछन् ।

माडीफाँटमा सिँचाइको व्यवस्था राम्रो नभएको र सिँचाइका सानासाना योजना अहिलेसम्म प्रभावकारी हुन नसकेको, दिगो व्यस्थापनका लागि भुमिगत सिँचाइ प्रणाली र खोलाबाट लिफ्टिङजस्ता सम्भावना भएपनि बजेटको समस्या भएको डिभिजन सिँचाइ कार्यालयका सूचना अधिकारी उमेश महतो बताउनुहुन्छ ।

पाल्पा जिल्लालाई खाद्यान्न बालीमा आत्मनिर्भर बनाउन फाँटमा सिँचाइको दिगो व्यवस्थापनका लागि अबका दिनमा स्थानीय सरकारको पहल हुने स्थानीय सरकारका प्रतिनिधि राजेश कुमार अर्याल बताउनुहुन्छ ।

तानसेन नगरपालिका, बगनासकाली, माथागढी, रम्भा गाउँपालिकामा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो फाँटमा सिँचाइको वैकल्पिक र दिगो व्यवस्था गरेको खण्डमा, खाद्यानमा आत्मनिर्भर मात्र नभइ स्थानीय क्षेत्रमा कृषिबाटै बलियो रोजगारीको अवसर सिर्जना हुनेछ । त्यसका लागि तीनै वटा सरकारकोबीचमा समन्वय हुन जरुरी छ ।