
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेट स्रोतको एकीन नगरी अनुमानको भरमा आएको पनि बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष लिङदेनले बजेटमा हेटौंडा कपडा उद्योग संचालन गर्ने संयन्त्रको टुंगो नलगाई त्यसको कपडा प्रयोग गर्ने हावादारी कुरा गरिएको बताउनुभयो । उहाँले भन्नु भयो, ‘यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरु के हुन ? कहीँ पनि स्पष्ट छैन । यो सदाझै बजेट अनुमान, यति आम्दानी हुन्छहोला । अनि, यति अनुदान पाईन्छ होला, यति ऋण लिईन्छ होला त्यसको आधारमा चाँही बनाइएको छ । कति राम्रो कुरा छ कि–एकैघण्टामा चितवन पुग्ने । तर त्यसका आधार के हुन, स्रोत के हुन ? यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रुपमा मानिसहरुलाई भुल्याउने गरी मात्रै ल्याइएको छ । हेटौंडा कपडा उद्योगबाट उत्पादित लुगाचाँही सबैले लगागनुपर्ने कति राम्रो कुरा जस्तो लाग्छ । आम मान्छेले सुन्दा कति राम्रो कुरा ल्यायो यो सरकारले भन्छ । उद्योग कहिले चल्ने हो, कहिले उत्पादन गर्ने हो ? उद्योग चलाउने संयन्त्र के हो ? थाहा छैन ।’
उहाँले इन्डक्सन चुलो गरिवहरुलाई बाँड्ने भनिएपनि त्यो कमिसनबाहेक अन्य केही नरहेको बताउनुभयो ।
अध्यक्ष लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गर्नुभयो । उहाँले ललिपपजस्तो मानिसहरुलाई भूल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनुभयो ।
अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्