२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विश्वकै युवाको आकर्षण बन्यो नेपालका हिमाल


741
Shares

काठमाडौं । विश्वका धेरै पर्वतारोहीलाई नेपालका हिमाल आरोहण नगरेसम्म धित नै मर्दैन । विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र होईन अन्य हिमाल पनि उनीहरुका लागि उत्तिकै आकर्षक हुने गर्छ ।

पर्वतारोहणमा रुची राख्नेका लागि सगरमाथा मात्र नभइ यहाँका अन्य हिमालले पनि आरोहीलाई उत्तिकै आकर्षित गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमै छन् ।

त्यसैले पनि हिमाल आरोहणको सपना बोकेका जो कोहीका लागि नेपाल नै पहिलो गन्तव्य हुने गर्दछ । कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरी र चोयु लगायतका हिमाल विश्वका सबैका आरोहीहरुको लागि केन्द्र बनेको छ ।

तिनैमध्येकी एक हुन पोल्याण्डकी ३३ बर्षीया महिला म्यागदालेना मादेज । सात बर्षकै उमेरमा पोल्यान्डमा हिमाल चढेकी उनलाई विश्व चर्चित हिमाल आरोहण गर्ने सपनाले नेपाल डो¥यायो । करिव आठ महिनाको नेपाल बसाइका क्रममा म्यागदालेनाले गत बर्ष आमादब्लम र गत मे १५ मा ल्होत्सेको सफल आरोहण गरेकी छिन । अर्को वर्ष सगरमाथा आरोहणका लागि नेपालमा बसेर उनले तयारी गरिरहेकी छिन ।

हिमालमा ध्यान र योग गर्नु उनको भित्रि इच्छा र शौख रहेको छ । ल्होत्सेको आरोहणपछि काठमाण्डौ फर्किएकी उनले हामीसँग आफना अनुभवहरु साटेकी छिन् । बच्चा बेलामा आमाले पहिलो पटक पोल्यान्डका हिमालहरुमा पाइला टेकाएको विगत सुनाउन्दै म्यागदालेनाले सानीआमाको प्रेरणाबाट आरोहण क्षेत्रमा पाइला टेकेको बताइन् ।

अब नेपालमा सहरमाथासहित अन्य हिमालहरु चढ्ने उनको धोको छ । पोल्याण्डका हिमालहरु आफनो क्रिडास्थल भएकोले आफुलाई नेपालमा पनि त्यस्तै अनुभव भएको भन्दै उनले नेपालको प्राकृतिक सौन्दर्यले आफुलाई प्रेरणा दिइको बताइन् ।

हिमाल आरोहणमार्फत कीर्तिमान कायम गरेर आफनो देशको नाम राख्ने म्यागदालेनाको चाहना छ । नेपालको सभ्यता, कला र संस्कृति उनका लागि नौलो थिए तर नेपाल बसाइको क्रममा नेपालीको सहिष्णु संस्कार र संस्कृतिमा उनी मोहित भएकी छिन । आरोहणको प्रक्रियालाई सहज र सुरक्षित बनाउँदै अतिथिहरुलाई न्यानो स्वागत गर्न सके उनीहरुकै प्रचारबाट पनि नेपालमा थप पर्यटक भित्र्याउन मद्धत पुग्ने देखिन्छ ।