
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश बदर गरेको छ ।
बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि आफैंले गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।
यसअघि पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो ।
जिल्ला अदालतले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो । सो अन्तरकालीन आदेशविरुद्ध कोषले दिएको निवेदनको आहज सुनुवाई गर्दै उक्त आदेश बदर गरेको हो ।
कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने इजलासको ठहर छ । आदेशसँगै अब बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्