२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


मानहानीको मुद्दा जिते हलिउड अभिनेता जोनी डेपले

पूर्वपत्नी एम्बर हर्डले १५ मिलियन क्षतिपूर्ति तिर्नुपर्ने

1.664k
Shares

काठमाडौं । हलिउड अभिनेता जोनी डेप र एम्बर हर्डबीचको कानुनी लडाइमा भर्जिनिया अदालतले आफ्नो फैसला सुनाएको छ । मानहानीको मुद्दाको सुनुवाइ गर्दै सात न्यायाधीशको इजलासले उक्त फैसला गरेको हो ।

तीन पटक ओस्कारमा मनोनित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् । अदालतले एम्बरले जोनी डेपलाई मानहानी गरेको दोषी पाएपछि उनलाई १० मिलियन डलर क्षतिपूर्ति र दण्डात्मक क्षतिको रूपमा ५ मिलियन डलर गरी १५ मिलियन डलर तिर्न आदेश दिएको छ ।

एम्बरसँगै अदालतले जोनी डेपलाई पनि मानहानीका केही मुद्दामा दोषी ठहर गरेको छ । अदालतले जोनी डेपलाई एम्बर हर्डको मुद्दामा मानहानीका केही मुद्दामा दोषी पाएको छ र क्षतिपूर्ति बापत २ मिलियन डलर तिर्न आदेश दिएको छ ।

जोनी डेप र एम्बर हर्ड बीचको कानुनी लडाई सन् २०१८ मा प्रकाशित एउटा लेखबाट सुरु भएको थियो । जोनी डेपकी पूर्व पत्नी एम्बरले सन् २०१८ मा एउटा अखबारका लागि लेख लेखेकी थिइन्, जसमा उनले आफूलाई घरेलु हिंसाको शिकार भएको बताएकी थिइन् ।

यो लेख प्रकाशित भएपछि जोनी डेपले एम्बर विरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । डेप र उनकी पूर्व पत्नी एम्बर हर्डको अदालतको मुद्दा विगत ६ हप्तादेखि चर्चामा विषय बनेको थियो ।