३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


जल तथा मौसम विभागले भन्यो– ‘इनरुट’को मौसमी पूर्वानुमान गर्न सकिँदैन


1.508k
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने जनाएको छ ।

मौसम विभागले सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने जनाएको हो । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले भनेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ ।

तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।

हाल उपलब्ध जनशक्ति र प्रविधिको माध्यमबाट आन्तरिक उडानका लागि मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने विभागले प्रष्ट गरेको हो ।

१५ जेठमा तारा एयरको विमान दुर्घटना भएपछि सरकारले इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ ।

तर, त्यस्तो सूचना कसले दिने भन्नेमा अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएको छ ।