२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा हुनुपर्ने राप्रपाको प्रस्ताव


2.249k
Shares

काठमाडौं । राप्रपाले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माग राखेको छ ।

राप्रपाको बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्थामा जानुपर्ने प्रस्ताव अघि सारेको हो ।

यस्तै, राप्रपाले पूर्ण समानुपातिक संसद हुनुपर्ने बताएको छ । अभिभावकीय भूमिकामा भने राप्रपाले राजा रहने व्यवस्था अघि सारेको छ ।

राप्रपाले केन्द्र र बलियो स्थानीय तह भए पुग्ने भन्दै प्रदेश आवश्यक नरहेको समेत बताएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीले गरेका यी प्रस्तावलाई अब संघीय निर्वाचनमा जोडदार रूपमा उठाउने बताउनुभयो । यी प्रस्तावहरु केन्द्रीय समिति बैठकबाट पारित गर्ने राप्रपाको तयारी छ ।

कार्यसम्पादन समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतको उपस्थित थियो । प्रवक्ता श्रेष्ठका अनुसार असारमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि भएको छ ।

असार ७, ८ र ९ गते राप्रपाको केन्द्रीय समिति बैठक बस्ने छ । भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकले निर्णय गरेको छ ।