१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हेलिकोप्टरमा दुई पाइलट राख्न वायुसेवा सञ्चालक संघले मानेन


260
Shares

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ । एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने संघले जनाएको छ ।

९ सिट क्षमता भन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने संघको तर्क छ । हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् ।

१० विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउदै आएको बताएका हुन् ।