
पाल्पा । ऐतिहासिक सम्पदा र संस्कृतिको रुपमा सुपरिचित नाम हो पाल्पाको तानसेन । तानसेनको यीनै विशेषताले आगन्तुकलाई समेत आफ्नो सांस्कृतिक मूलप्रवाहमा समाविष्ट गर्न सफल छ । तर यहाँका कतिपय सांस्कृतिक सम्पदाहरूको उचित व्यवस्थापन नहुँदा तानसेनको पहिचानमाथि प्रश्न उठ्न थालेको छ । ऐतिहासिक र सांस्कृतिक शहरका रुपमा स्थापित तानसेनका कलात्मक सांस्कृतिक सम्पदाहरूको संरक्षण र उचित व्यवस्थापन हुन नसक्दा तानसेनवासी चिन्तित बनेका छन् । यहाँको दुईसय वर्ष पुरानो ऐतिहासिक अमर नारायण मन्दिर र मन्दिर परिसरमा रहेको फूलबारीको उचित व्यवस्थापन हुन सकेको छैन ।

विश्व बैंकको ३ करोड ६५ लाखको लागतमा मन्दिरको पुनर्निर्माण र जिर्णोद्धार गरिएको भएपनि उचित व्यवस्थापन नहुँदा दाताको लगानी बालुवामा पानी सरह भएको छ । काजी अमर सिंह थापाले बि.स १८६३ मा निर्माण गरेको ऐतिहासिक महत्व बोकेको मन्दिरको जिर्णोद्धार गरिएको पाँच वर्ष नबित्दै भत्किएको छ भने सँगै रहेको फूलबारी परिसर समेत अस्तव्यस्त बनेको छ ।

तानसेन नगरपालिकाले २०७० सालमा विश्व बैंकको ६० प्रतिशत ऋण र ४० प्रतिशत अनुदानमा पुरातात्विक महत्व कायम गर्ने गरी निर्माणका लागि सम्झौता गरेको थियो । नगरपालिकाले १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरे पनि काम सम्पन्न नहुँदै मन्दिर भत्कियो ।

फूलबारी परिसरमा निर्मित संरचना अहिले बेवारिसे अवस्थामा छन् । काठका खम्बा फुटेका छन्, भने शौचालयको दुर्दशा पनि उस्तै छ । छाना विनाका पौवा निर्माण हुँदा पौवा नै खण्डहर बन्न पुगेका छन् । पुनर्निर्माण र जिर्णोद्धारको जिम्मा पाएको प्राकृतिक निर्माण सेवा कम्पनीले मापदण्डभन्दा बाहिर गएर काम गर्दा मन्दिर पाँच वर्षमै भत्किएको स्थानीयको भनाई छ ।

पुरातात्विक महत्वलाई नबिगार्ने गरी पुनर्निर्माण र जिर्णोद्धार गर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरवाही र नगरपालिकाको उदासिनताका कारण आधुनिक स्वरुप र शैलीमा मन्दिर र फूलबारी परिसरको निर्माण गरेपछि स्थानीयले विरोध गरेका थिए । सम्पदा नाश हुनु भनेको तत्कालीन सभ्यता र इतिहास नै नाशिनु हो । तसर्थ सम्पदाको संरक्षण गर्न सरकार तथा समुदाय दुवैको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्