
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको छानविन गरी प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पदार्थको मुल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गर्नु भएको हो ।
संसदीय समितिले मुल्यवृद्धि घटाउनका लागि र अब बढ्न सक्ने खतराबाट मुल्यवृद्धिलाई नियन्त्रण गर्नका लागि सुझाव पेश गर्ने उहाँले बताउनुभयो । उहाँले कमिशनको सेटिङमा पेट्रोलियम पदार्थको आयात गर्न नीजि क्षेत्रलाई दिइन लागेको भन्दै यस बारे जवाफ दिन सरकारसँग माग गर्नुभयो ।
उहाँले पेट्रोलियम पदार्थको आयात गर्न नीजि क्षेत्रलाई दिने सम्बन्धमा कुनै ऐन, कानून नभएको भन्दै कुन आधारमा दिन लागिएको हो भन्ने प्रश्न पनि गर्नुभयो ।
नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर अनैतिक काम गरेको बताउनुभयो । मुल्यवृद्धि अवैधानिक भएको पनि उहाँले बताउनुभयो । मुल्यवृद्धिको सम्बन्धमा धेरै प्रश्न र शंकाहरु उब्जिएको भन्दै उहाँले त्यसको छानविन गर्न संसदीय समिति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेकपा(एमाले)का सांसद गणेश पहाडीले प्रचलित कानूनको प्रावधानलाई उल्लंघन गरेर मुल्यवृद्धि गरिएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको असरस्वरुप अन्य विभिन्न खाद्य र गैरखाद्य वस्तुमा पनि मुल्यवृद्धि भएको उल्लेख गर्दै बजार अनुगमन हुन नसकेको बताउनुभयो । बजार अनुगमन नगरेर सरकार निकम्मा भएको उहाँको भनाई छ ।
उहाँले पेट्रोलियम पदार्थको साथसाथै अन्य वस्तुको मुल्यवृद्धि घटाउनतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्