२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेस


117
Shares

काठमाडौं । राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको हो ।

देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गर्नुभएको हो ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिको विरुद्धमा मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो । उहाँले मूल्यवृद्धिले गर्दा गरिब, सीमान्तकृत, कमजोर, आयश्रोत भएका वर्ग, विद्यार्थी लगायत आम जनताको दैनिक जनजीवनमा पार्ने असरबारे अर्थशास्त्रीय दृष्टिकोणबाट गरिएको बहुआयामिक प्रभावसहितको विश्लेषणात्मक प्रतिवेदन माग गर्नुभयो ।

उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गठबन्धन सरकारले जनतालाई फलफूल, तरकारीमा पनि मूल्यवृद्धिको उपहार दिएको बताउनुभयो ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले नेपाली जनताको आर्थिकस्तरले धान्नै नसक्नेगरी मूल्यवृद्धि गरेको बताउनुभयो । उहाँले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै संविधानले दिएको सम्मानजनक बाच्न पाउने अधिकारसमेतलाई छिनेको बताउनुभयो ।

त्यस्तै, जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्यमाथि वर्तमान सरकार गैरजिम्मेवार भएको आरोप लगाउनुभयो ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सरकारले पेट्रोलियम पदार्थलाई व्यापारिक वस्तुको रुपमा मात्र लिएको जस्तो अनुभुति हुन थालेको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य देवकोटाले पेट्रोलियम पदार्थ आधारभुत आवश्यक्ताको वस्तु भएकोले मूल्य निर्धारणमा फरक सिद्धान्त अवलम्वन गर्नुपर्ने बताउनभयो । राष्ट्रिय सभाको बैठकमा अहिले जरुरी सर्वाजनिक महत्वको प्रश्तावमाथि सांसदहरुले छलफल गरेका छन् । राष्ट्रिय सभाको बैठक आजै दिउँसो ३ बजे बस्नेटरी स्थगित भएको छ ।