११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


टेकु अस्पतालका डा. शेरबहादुर पुनलाई स्पष्टीकरण मागिएपछि सरकारको आलोचना


0
Shares

काठमाडौं, बैशाख ६ । सरकारले कोरोना भाइरसको संन्त्रासका बीचमा पनि राम्रो काम गरेका भनेर जनस्तरमा प्रशंसित चिकित्सक डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका सम्बन्धमा मर्यादा विपरित काम गरेको भन्दै डा. पुनसँग स्पष्टीकरण मागेको छ ।

मन्त्रालयले डा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नम्बर लिक गरेको आरोप मन्त्रालयले लगाएको छ । मौखिक रुपमा मन्त्रालय बोलाउँदा नआएपछि पत्र नै काटेर बोलाउनु परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको प्रशासन शाखाका प्रमुख रघुराम विष्टले केही अस्पष्ट विषयमा बुझ्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मार्फत दुई पटक बोलाउँदा पनि नआएकाले चिठ्ठी लेख्नु परेको सञ्चारमाध्यमलाई बताएका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत पुनलाई यसरी मन्त्रालयमा बोलाइएकोमा सामाजिक सञ्जालमा भने सरकारको तीब्र आलोचना भएको छ । धेरैले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको आलोचना गरेका छन् ।