२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बजेट महत्वाकांक्षी नभई वास्तविक : अर्थमन्त्री शर्मा


91
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभई वास्तविक रहेको बताउनुभएको छ ।

उहाँले आउँदो निर्वाचन, कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा, दिवा खाजा कार्यक्रम तथा आन्तरिक ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने भएकाले बजेटको आकार बढेको बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले पेश गरेको विनियोजन तथा आर्थिक विधेयकमाथि प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्न जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट वृद्धिको प्रतिशत, कुल ग्राहस्थ उत्पादनसँग बजेटको अनुपात र बजेट घाटा भने अघिल्ला आर्थिक वर्षहरुको तुलनामा कम रहेको जिकीर गर्नुभयो ।

जीडीपीको तुलनामा बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि कम रहेको पनि उहाँले बताउनुभयो । सबै सरोकारवालाको सुझावमा बजेट तयार पारेको भन्दै अघिल्ला आर्थिक वर्षका बजेटसाग यस बजेटलाई तुलना गर्न पनि उहाँले सांसदहरूलाई सुझाव दिनुभयो ।

यसैगरी, शर्माले विद्युतीय गाडी आयातमा बढाइएको करमा कुनै स्वार्थ नरहेको र १०० किलोवाट तलका विद्युतीय गाडीमा कर नबढाइएको भन्दै डलर धेरै बाहिर जाने १०० किलोवाट माथिका गाडीमा मात्र कर बढाइएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा निजी क्षेत्रलाई नदिएकाले भ्रमित नहुन आग्रह गर्दै बरु जहाँ छ त्यहीबाट सञ्चालन हुने भन्दै निजी क्षेत्रलाई दिने विषयमा अध्ययन मात्र गर्न लागिएको जिकीर गर्नुभयो ।

बजेट चुनाव हेरेर नबनाइएको बरु देशको अर्थतन्त्रको अवस्था हेरेर ल्याइएको दलील पेश गर्दै उहाँले शिक्षामा लगानी बढेको र १२ कक्षा पढिसक्दा सीप सिकेर निस्कने व्यवस्था गरिएको दाबी गर्नुभयो । आधारभूत पूर्वाधार बनाएर मेडिकल शिक्षा नेपालमा नै पढाउने व्यवस्था बजेटमा गरिएको भन्दै उहाँले आईटी शिक्षा र सूचना प्रविधिमा आधारित विषय बजेटमा रहेको मन्त्री शर्माले बताउनुभयो ।

वृद्धभत्ता पाउने उमेर घटाइएका सम्बन्धमा भने अर्थमन्त्री शर्माले नेपालीको औसत आयु नै कम भएकाले उमेर परिवर्तन गरिएको जवाफ दिनुभयो । ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा नयाँ बजेटमा ६८ वर्ष उमेर पुगेकाले पनि भत्ता पाउने व्यवस्था गरिएकामा भइरहेको आलोचनाप्रति उहाँले गरीब र निमुखा जनतालाई वृद्धभत्तामा जोड्न यस्तो गर्नु परेको तर्क गनुभयो ।