जनकपुर, बैशाख ६ । जनकपुरमा लुकीछिपी जथाभावी पैसा फालेर भाग्ने मध्येकी एक महिलाको कोरोना भाइरस परीक्षणमा पोजेटिभ देखिएको छ ।
प्रहरीले शनिबार पक्राउ गरेका दुबै महिलालाई गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले पुष्टि गरेको हो । दुबै जनाको पिसिआर विधिबाट पनि परीक्षण गरिँदै छ ।
अस्पतालमा भर्ना भएकामध्ये ३ जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको र त्यसमध्ये पैसा फाल्ने दुई महिलामध्ये एक जनामा पनि पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले पनि पैसा फालेर भागेकी दुईमध्ये एक जना महिलामा आरडिटी रिपोर्ट पोजेटिभ भेटिएको भन्ने जानकारी आफूलाई आएको बताएका छन् ।
शुक्रबार जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा १० रुपैयाँ केही नोट फालेर उनीहरु भागेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाले दुबैलाई शनिबार दिउँसो पक्रेको थियो ।
पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा बस्ने र नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।
सिसिटीभी फुटेज झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्