
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुग्नुभएका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताउनुभयो ।
वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मुल नेता भन्नेहरूनै एकताको पक्षमा नरहेको उहाँको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पार्नुभयो ।
‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो, तर वामपन्थी आन्दोलनका आफूलाई मुल भन्ने नेताहरू एकताको पक्षमा छैनन्,’ उहाँले भन्नुभयो, ‘त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’
सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरूको न्यून उपस्थिति हुनु राम्रो नभएको बताउनुभयो । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरू आउने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्