
काठमाडौं, बैशाख ६ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ ।
दुई नेताबीच कोरोना भाइरसले सिर्जना गरेको अवस्था, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषय र बिचल्लीमा परेका नागरिकलाई राहत दिने विषयमा छलफल भएको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार अध्यक्षद्वयबीच करिब तीन घन्टा प्रधानमन्त्रीनिवास बालुवाटारमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच १० दिनपछि भेटवार्ता भएको हो । शनिबार बिहान ११ बजे दाहाल आफैंले समय लिएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
पछिल्लो समय कोभिड–१९ विरुद्ध लड्न प्रधानमन्त्रीकै नेतृत्वमा सर्वदलीय संयन्त्र गठन गर्ने दाहालको प्रस्ताव ओलीले अस्वीकार गरेपछि अध्यक्षद्वयबीच भेटवार्ता हुन सकेको थिएन । दाहालले आफूले प्रधानमन्त्रीसँग विस्तृतमा छलफल गन चाहेपनि नपाएको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्