२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


म्याग्दीमा दूधको मूल्य बढ्यो


195
Shares

म्याग्दी । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ।

दुई वर्ष यता दूधको मूल्य समायोजन नहुँदा कृषक मारमा परेको गुनासो आइरहेका बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुशी भएका हुन्। मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर १ सय १० रुपैयाँ र ब्यापारीले अधिकतम १ सय ३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँ र डेरीले उपभोक्तालाई प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री वितरण गर्ने गरेका थिए । त्यस्तै गाईको मात्र दूधलाई भने प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको छ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर २० रुपैयाँ र डेरी ब्यवसायीले १२ रुपैयाँबढी पाउने भएका छन्। केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेको भन्दा २० प्रतिशत बढी लिन नपाउने बताउनुभयो।
दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताउनुभयो।

उहाँले प्रत्येक वर्ष मूल्यवृद्धि अनुसार समायोजन हुनुपर्ने बताउदै अहिले कृषकको माग सम्बोधन भएको बताउनुभएकाे छ। यता उपभोक्ताले भने दूध आम उपभोक्तासामु पुर्याउन गुणस्तरमा ध्यान दिंदै मूल्य स्थिर बनाउनुपर्नेमा जोड दिएका छन्।
उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो रहेकाे छ।

भेटेरीनरी अस्पताल तथा पशु सेवासहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, बिक्रेता कमिसनसम्म ध्यान दिंदा दूधमा मिसावटको अवस्थाका विषयमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताले माग गरेका छन्।