
म्याग्दी । म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ति कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यवहारिक रुपमा नै चरितार्थ गरिदिएका छन् ।
१० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका-७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुंगानाले पेशा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुभएकाे छ । साथै परिश्रम गर्ने हो भने विदेशको भन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि उहाँ सफल हुनुभएको छ।
अधिकांश नेपाली युवाहरु विदेश जानका लागि मरिहत्ते गर्छन् । विदेश जानका लागि भएको घरजग्गा धितो राखेर ऋण लिएका हुन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनाहरुलाई लत्याएर विदेशको रमाईलाेमा रमाएको कल्पना गरी मनको लड्डु घ्यूँसँग खाएको भ्रममा आफ्नो जिन्दगीका उर्वर दिनहरु खेर फालिरहेकाे उहाँकाे तर्क छ । तर परिश्रम गर्ने हो भने विदेशको भन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावनाहरु नेपालमै पनि भएकाे उहाँकाे भनाई छ । तर हामी त्यो कुरा नबुझेकाे उहाँ बताउनुहुन्छ । स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका ढुंगानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान समेत फकाएका थिए । तर उहाँले साथीहरुलाई अमेरिका जाने होइन गाउँमै अमेरिका भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना भएकाे बताउनुभएकाे थियाे ।
आज भन्दा ९ वर्ष पहिले २०७० सालमा कृषि तथा पशुपंक्षी फर्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुंगानाको फर्ममा अहिले २२ वटा मुर्रा जातका भैंसी र दुईवटा जर्सी गाई दुहुना रहेका छन् । ती भैंसी र गाईबाट दैनिक १ सय ५० लिटर दूध सदरमुकाम बेनीबजारमा विक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । दुई वटा भैंसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुंगानालाई मासिक ४ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब २ लाखको हाराहारीमा वचत हुने उहाँले बताउनुभएकाे छ ।
फर्ममा अहिले ५० लाख रुपैयाँ जति लगानी भइसकेको उहाँले बताउनुभयो । भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त भएकाे उहाँकाे तर्क छ । समय गएको पत्तै हुँदैन। साँझपख बजारमा दूध पुर्याएउन जाने उहाँले बताउनुभएकाे छ । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धाैलागिरी डेरी उद्योगमा दैनिक १ सय ५० लिटर दूध पुर्याएपछि बल्ल शरीरमा फूर्ति आउने उहाँ बताउनुहुन्छ ।
प्रतिलिटर ९० रुपियाँमा दूध विक्री हुने गरेको उहाँले बताउनुभयो। ढुंगानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्याउने बताउनु भयाे । बजारको अभाव नभएकाे र जति पनि दूध विक्री हुने उहाँ बताउनुहुन्छ। तर गुणस्तरलाई खस्कन दिन नहुने पनि उहाँ बताउनुहुन्छ । पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमा भन्दा राम्रो कमाई गर्न सकिने अनुभव उहाँले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फर्म बनाउनुभएको छ भने फर्ममा दुई जनालाई रोजगारी समेत दिनुभएको छ ।
भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफै खटिने ढुंगानले विदेशमा गएर अरुको अधिनमा बसेर दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाई गर्न सकिने बताउनुहुन्छ। ढुंगानाको सफलताको कथा यत्तिकैमा सकिंदैन । फापेको भैंसी पालनसँगै उहाँले कुखुरा पालन पनि सुरु गर्नुभएको छ। अहिले ढुंगानाको फर्ममा २ हजार ३ सय ब्रोइलर कुखुरा विक्रीका लागि तयारी अवस्थामा रहेका छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक ८ लाख रुपैयाँ उहाँले कमाउनुहुन्छ ।
गाई र भैंसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर सुरेश ढुंगानाकाे अहिले मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा कमाउने कमाई भन्दा बढी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्