२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङको ताक्लाकोट नाका खोल्न माग


273
Shares

बझाङ । चीनको तीब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाकालाई वैधानिकता दिन बझाङवासीले माग गरेका छन् ।

तिब्बतसँग सिमाना जोडिएको यो नाका हुँदै वर्षेनी करोडौंकाे जडिबुटी निर्यात हुने भन्दै स्थानीयले यो नाकालाई वैधानिकता दिन माग गरेका हुन् । बझाङको सदरमुकाम चैनपुरबाट ८५ किलो मिटरको दूरीमा रहेको याे नाका चीन र भारतलाई जोड्ने नेपालको सबै भन्दा छोटो नाका हो ।

यहाँबाट वर्षेनी ३ करोड रुपैयाँ भन्दा बढीको यार्सागुम्वा लगायत अन्य बहुमूल्य जडिबुटीको कारोवार हुने गरेको छ । सीमामा भन्सार कार्यालय स्थापना नहुँदा सो कारोबारबाट प्राप्त हुने राजस्व आउन सकेको छैन् । कार्यालय स्थापनाका लागि स्थानीय निकायले पहल गरिए पनि सरकारले बेवस्ता गरेका कारण नाकाले वैधानिकता पाउन सकेको छैन् ।

बझाङबाट यार्सागुम्बा, बनलसुन, कटुकी, सतुवा, पाँचऔले लगायत जडिबुटीहरु ठूलो परिमाणमा निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामानहरु, मह, घ्यूँ, छुर्पी, खुर्सानी लगायतका दैनिक उपभोग्य सामानहरु पनि ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको स्थानीय तिलक बहादुर बिकले जानकारी दिनुभयो ।

तिब्बतबाट नुन, कपडा, जुत्ता र ठूलो परिमाणमा तिब्बती ब्रान्डका मदिराहरु आयात हुने गरेका छन् ।