
एजेन्सी, बैशाख ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारहरुप्रति भड्किएका छन् । उनले आफ्नो प्रशासनको आलोचना गरेर खबर लेख्ने पत्रकारलाई तल्लो दर्जाको समेत भने ।
शनिबार आफ्नो नियमित पत्रकार सम्मेलनमा ट्रम्पले पुलित्जर पुरस्कार विजेता न्यूयोर्क टाइम्सकी पत्रकार म्यागी हेबम्यानको गम्भीर आलोचना गरेका हुन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोस रोएको सम्बन्धी खबर लेखेकी हेबम्यानलाई उनले सार्वजनिक रुपमै भँडास पोखे र औल्याउँदै भने, हेबम्यानले पुलित्जर पुरस्कार नै फिर्ता गर्नुपर्छ ।
ट्रम्पले भने, ‘मैले पनि मार्क मेडोस रोएको सम्बन्धी स्टोरी पढेँ । यो स्टोरी लेख्ने तिनै म्यागी हेबम्यान हुन्, जसले रुसको स्टोरीका लागि पुलित्जर पुरस्कार पाएकी थिइन् । तर उनी रुसलाई लिएर गलत थिइन् । उनले त पुलित्जर पुरस्कार फिर्ता गर्नु पर्छ ।’
ट्रम्पले म्यागीलाई तल्लोस्तरको पत्रकारसमेत भने, ‘म्यागी थर्डग्रेड रिपोर्टर हुन् । हामीले उनी कस्ती रिपोर्टर हुन् भन्ने बताएपछि उनले मार्क मेडोस रोएको भन्ने स्टोरी गरेकी हुन् । न्यूयोर्क टाइम्स अति बेइमान पत्रिका हो । यो मेरो धारणा हो । यसमा कुनै आंकलन छैन, सत्य कुरा हो ।’
न्यूयोर्क टाइम्सकी रिपोर्टर म्यागीले सन् २०१८ मा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा लेखेको समाचारका लागि पुलित्जर पुरस्कार पाएकी थिइन् ।
पत्रकार म्यागीले पनि ट्रम्पलाई जवाफ दिँदै ट्वीट गरेकी छन् । ट्रम्प लगातार पत्रकार तथा सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्