
काठमाडौं । आगामी आर्थिक वर्ष ०७९/०८० बजेटपछि शेयर बजार उकालो लाग्ने शेयर बजारका पण्डितहरूको विश्लेषणलाई गलत सावित गर्दै यस साता बजार उल्लेख्य घटेको छ ।
सरकारले संघीय संसदमा प्रस्तुत गरेको बजेटले दोस्रो बजारका लगानीकर्ताहरूलाई सम्बोधन नगरेपछि बजार २ हजारको लाइनमा आइपुगेको छ ।
बजेटमा रेमिट्यान्स पठाउने नेपालीलाई आइपीओ निष्काशनमा कोटा तथा गैर आवाशीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न सिस्टम बनाउने बाहेक अन्य कुनै विषय सम्बोधन नभएपछि सेयर बजार लगानीकर्तामा निराशा छाएको हो ।
तरलताले असर गरेको बजारलाई बजेटले केही राहत दिने विश्वासमा रहेका लगानीकर्तालाई सम्बोधन नभएपछि बजार झनझन ओरालो लागेको छ ।
गत वर्षको भदौमा ३१९८ विन्दुको उचाई छोएको बजार ११ सय २० अंक घटेर हाल २०७८ अंकमा ओर्लिएको छ ।
साताको पहिलो कारोबारदेखि नै घट्न थालेको बजार साताभर निरन्तरता पायो । यस साताभर धितोपत्र बजार १ सय ४५ दशमलव ८ अंक घटेको छ ।
गत साता ११ दशमलव ३१ अंकले बजार परिसूचक घटेको थियो । अघिल्लो शुक्रबार २२ सय २३ दशमलव ७८ अंकमा रहेको बजार साताभर १ सय ४५ अंक घटेर २०७८ दशमलव ७० अंकमा ओर्लिएको छ ।
कारोबार रकम पनि यस साता सामान्य रूपमा घटेको छ । गत साता करिव ७ अर्ब कारोबार भएको बजारमा यस साता भने ६ अर्ब १७ करोड रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
उप–समूहतर्फ यस साता कारोबार भएको समूहको शेयर मूल्य पनि उल्लेख्य कमी आयो । जसमा बैंकिङ समूह १ सय १ दशमलव ३७ अंक, व्यापार समूह २ सय २० दशमलव २७ अंक, होटेल तथा पर्यटन समूह १ सय १९ दशमलव ५४ अंकले घटेको छ ।
त्यस्तै विकास बैंक समूह २ सय ६ दशमलव ३४ अंक, जलविद्युत समूह १ सय २६ दशमलव ७ अंक, फाइनान्स समूह ८४ दशमलव २२ अंक, निर्जीवन बीमा समूह ९ सय ४७ दशमलव ७८ अंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३ सय ७० दशमलव ९६ अंकले घटेको छ ।
अन्य समूह १ सय १३ दशमलव ९३ अंक, माइक्रो फाइनान्स समूह २ सय ५१ दशमलव ८४ अंक, जीवन बीमा समूह ९ सय १६ दशमलव ६५ अंक, म्युचुअल फण्ड समूह शून्य दशमलव ५५ अंक तथा लगानी समूह ४ दशमलव २२ प्रतिशतले घटेका छन् ।
प्रतिक्रिया दिनुहोस्