
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार राति सवा ९ बजे दोस्रो अभ्यास खेल खेल्दैछ ।
सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्न लागेको हो । सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास स्वरुप खेल्न लागेको खेल ५० ओभरको हुनेछ ।
यसअघि नेपालले नेपालका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग खेलेको खेलमा ४ विकेटको पराजित भएको थियो ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ भने लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्