१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सशस्त्रका पार्की र नेपाल प्रहरीकी पछाइलाई कान्तिपुर हाफ म्याराथनको उपाधि


182
Shares

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दशौं संस्करणअन्तर्गत पुरुषतर्फको २१ दशमलब १ किलोमिटरको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् ।

महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम हुन सफल भइन् । पार्कीले एक घण्टा सात मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । पार्की १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुन् ।

त्यसैगरी पछाइले निर्धारित दूरी एक घण्टा १९ मिनेट १० सेकेन्डमा पूरा गरिन् ।

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी एक घण्टा सात मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो हुँदा आर्मीकै मुकेश पालले एक घण्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरि तेस्रो भए ।

त्यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेन्डमा र नेपाल पुलिस क्लबकी रोवा विष्टले एक घण्टा ३० मिनेट ४२ सकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमश दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।

प्रथम हुनेले एक–एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । हाफ म्याराथनसँगै कर्पोरेट दौड (पाँच किलिोमिटर), ह्विलचियर रेस (तीन किलोमिटर) गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो ।