१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आह्वान


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ ।

१७औं जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति जातीय भेदभाव तथा छुवाछूत अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले जातीय भेदभाव तथा छुवाछूत घृणित, सामाजिक रुपमा अनैतिक, अमानवीय, कानुनीरुपमा गम्भीर अपराधपूर्ण कार्य भएको भन्दै यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु सबैको दायित्व रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले छुवाछूतविरुद्ध शान्तिपूर्ण आन्दोलनमा लागेका दलित समुदायलाई नथाक्न आग्रह गर्नुभयो ।

जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यान जानेसम्मका घटना हुनु दुःखद भएको भन्दै उहाँले त्यस्तो परिस्थितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

शनिबार नै दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित ‘सर्वजीत’ नामक चलचित्रको शुभ मुहुर्तसमेत गरिएको छ ।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘सर्वजीत’ नामक चलचित्र निर्माणको निम्ति आफ्नो पाँच महिनाको पारिश्रमिक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा दलित महिला केन्द्रले यस वर्षको ‘ईभा कसेल सामाजिक न्याय पुरस्कार’ संविधान सभाका सदस्य शम्भु हजारा पासवानलाई प्रदान गरेको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।