
कैलाली । धनगढी उपमहानगरपालिकामा ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् ।
उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ की २७ वर्षीया रितु चौधरी रहेका छन् ।
शुक्रबार राति हाटबजार सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाको सम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्