
म्याग्दी । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्रवारदेखि बेनी नगरपालिका-२ भकुण्डे चौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्याक खुलेको १४ वर्ष भएकाे छ।
२०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दूरीको यो सडक स्तरोउन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन् । पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने स्थानीयको गुनासो रहेको छ । ट्याक खुलेको १४ वर्ष बितिसक्दा पनि यो सडकमा न त यातायातका साधनहरू नै सञ्चालन भएका छन् न त सडकको स्तरोउन्नतिमा नै कसैले चासो नै दिएको छ ।
७ किमि दूरीको यो सडक मर्मतका लागि अहिलेसम्म करिब एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने झन्झन् खराब हुँदै गइरहेको स्थानीयहरूको गुनासो छ । बेनी–भकुण्डे सडकको ट्याक खुलेदेखि अहिलेसम्म ट्याक्टर, र मोटरसाइकल बाहेक ठूला सवारीसाधनहरू सञ्चालन हुन सकेका छैनन् । स–साना सवारीसाधनहरू पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको बेनी नगरपालिका-२ ज्यामरुककोटका यामबहादुर थापाले बताउनुभएकाे हाे।
साना सवारीसाधन भने वर्षकाे ४ महिना मात्र मुस्किलले सञ्चालन भएकाे उहाँले बताउनुभएकाे छ। सडक बनेको १४ वर्ष बितिसक्दा पनि साे सडकबाट बस, मालबाहक र ठूलो ट्रक समेत नचलेकाे यामबहादुर थापाले बताउनुभएकाे हाे। साेही सडकाे मर्मत र स्तरोउन्नतीका लागि १ करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकल समेत गुडाउन नसकिँने उहाँले बताउनुभएकाे छ ।
उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधनहरू सञ्चालन हुन नसकेका स्थानीयवासीन्दाको भनाइ छ ।
बेनी नगरपालिकाको गेटदेखि हाडेभीर, लम्भलीहिल हुँदै बेनी नगरपालिका–२ भकुण्डेको वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटका निवर्तमान वडा अध्यक्ष हिराबहादुर थापाले कमजोर भू–बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो ।
सडकको स्तरोउन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिने बेनी नगरपालिका- २ का नवनिर्वाचित वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्