
काठमाडौं । सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाएका छैनन् ।
मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन । मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् ।
विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीलाई पढ्नै मुस्किल परिरहेको छ । कोरोनाले गर्दा ३ वर्षसम्म राम्रोसँग पढ्न नपाएका विद्यार्थी अहिले पढ्ने आशा बोकेर विद्यालय जान थाले पनि पुस्तक नहुँदा पठनपाठन प्रभावित भएको छ ।
जेठ २ गतेबाट शैक्षिक सत्र सुरु भई पठनपाठन सुरु भएको थियो । नयाँ पाठ्यपुस्तक नआउँदा विद्यार्थीको पढाइ प्रभावित हुन थालेको विद्यालयका प्रधानाध्यपकहरु बताउँछन् । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी विद्यालय जाने र हाजिर भएर मात्र फर्किने गरेका छन ।
सरकारले भर्ना हुनेबित्तिकै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउने भने पनि जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक प्रकाशन गर्न नसकेको भन्दै बिक्रेताले ल्याउन आनाकानी गरिरहेका छन ।
नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नुपर्ने नियम भए पनि निर्वाचनले गर्दा असर परेको शिक्षा विकास समन्वय इकाइले जनाएको छ । पुस्तक ढुवानीकर्ताहरुले निर्वाचनका कारण ढुवानीमा विलम्व भए पनि अबको एक हप्ताभित्र पुस्तक जिल्लामा पुग्ने बताएका छन् । ।
प्रतिक्रिया दिनुहोस्