
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ ।
मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिएको हो ।
बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
नियमितरुपमा सवारी साधान सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको उहाँको भनाइ छ । सो समय अगाडि वा पछाडिमात्र उक्त सडकमा आवतजावत गरिदिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्