
पोखरा । नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
पोखरामा आयतबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो । यसअघि काठमाडौंमा हुँदै आएको प्रतियोगिता गत वर्ष कोभिड–१९ का कारण प्रभावित भएको थियो ।
गतवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिए पनि कोभिड–१९ कै कारण हुन सकेको थिएन । विश्वका ५० भन्दा बढी देशका एक हजार ५ सय बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरुका परिवारसहित २ हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २ करोड लाग्ने अनुमान गरिएको मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्