१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनप्रतिनिधिको क्षमता मापक बन्दै काठमाडौंको फोहोर व्यवस्थापन

सिसडोल र बन्चरेडाँडासँगै टेकुवासी पनि प्रताडित

572
Shares

काठमाडौं । काठमाडौंका सार्वजनिक ठाउँमा फोहोरको साम्राज्य फैलिँदा यत्र, तत्र, सर्वत्र प्रभावित भएको छ । वर्षाको पानीले फोहोर बाटैमा कुहिएर दुर्गन्ध फैलिँदा रोगको संक्रमण उत्तिक्कै बढेको छ ।

नवनियुक्त मेयर बालेन्द्र शाहले फोहोर विसर्जन प्रभावित क्षेत्र, प्रधानमन्त्री शेरबहादुर देउवा, विभागीय मन्त्री, शीर्ष नेताहरूसँग समस्या समाधानका लागि गरेको प्रयासले अहिलेसम्म आकार पाएको छैन ।

सिसडोल र बन्चरेडाँडा मात्र हैन, उपत्यकाको फोहोर प्रशोधन केन्द्र रहेको टेकूबासी पनि फाहोरको दुर्गन्धले आजित भएका छन् । प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा दैनिक हजारौंको संख्यामा पर्यटकहरू आवतजावत गर्छन् । सोही ठाउँमा अहिले फोहोरका पहाड थुप्रिएका छन् ।

गर्मीको समय, त्यसमाथि वर्षाका कारण थुप्रिएका फोहारहरू कुहिएर दुर्गन्धित हुनथालेपछि स्थानीयको दैनिकी प्रभावित भएको छ । फाेहाेरकै कारण व्यवसायसमेत जाेखिममा परेकाे व्यवसायी बताउँछन् ।

फोहोरबाट निस्किएको दुर्गन्धका कारण स्वास्थ्य समस्याको त्रास बढेकाले तत्काल समस्याको निदान खोज्न उनीहरूले सरकारसँग माग गरेका छन् ।

लैनचौरस्थित वडा कार्यालय अगाडि पनि उत्तिकै फोहोर देखिन्छ । फोहोर व्यवस्थापनको प्रतिवद्धता लिएर जनप्रतिनिधि बनेकाहरूलाई नै फोहोरको थुप्रोले गिज्याएको भान हुन्छ ।

अझ रातविहान पारेर स्थानीयले चोकमा व्यक्तिको घरआँगन, पसल अगाडि फोहोर थुपार्ने गरेका छन् । यसले थप स्थिति जटिल बनेको छ ।

सडक मात्र नभएर टेकूस्थित फोहोर प्रशोधन केन्द्रबाट नै विगत २ महिना देखि डम्पिङ साइडमा फोहोर जान सकिरहेको छैन ।

चुनाव अघिदेखि नै उपत्यकाको फोहोर प्रशोधन केन्द्र टेकूमा लगेर थुपारिएको छ । फोहोर थुप्रिएर वस्ती पुरै दुर्गन्धित भएपछि स्थानीयले चार दिनदेखि फोहोर जम्मा हुन दिएका छैनन् ।

फोहोरलाई मोहोर बनाउने नाममा काठमाडौमा दशकौंदेखि राजनीति गर्नेहरूले समस्यालाई समाधान गर्न सकेका छैनन् । नव निर्वाचित जनप्रतिनिधिहरूको क्षमताको मापन पनि यही फोहोर व्यवस्थापनले गर्ने निश्चित छ ।