२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ७ जनालाई पक्राउ


533
Shares

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक चिनियाँ र एक भारतीय नागरिकसमेत छन् । दुबईबाट काठमाडौं आउने नेपाल वायुसेवा निगमको जहाजबाट आएका व्यक्तिले सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल रहेका छन् ।

यस्तै, २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । निगरानीका क्रममा सुरेश र सन्दीपले आफूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरमा सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको थियो ।

उनीहरुसँग सोधपुछका आधारमा थप अन्य व्यक्तिसमेत पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ परेका दुइजनाको सर्ट, पेन्ट र अण्डर्वयरको विभिन्न भागबाट सुनको पेस्ट बनाइ लुकाइ ल्याएको अवस्थामा ३१७.८१ ग्राम सुन बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुलाई थप अनुसन्धानको लागि त्रिभुवन बिमानस्थलको भन्सार कार्यालय पठाइएको प्रहरिले जनाएको छ ।