
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यावसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताउनुभयो ।
थाइल्याण्डमा जारी एसियाका शिक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षाासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बताउनुभयो ।
देशको उच्च शिक्षालाई प्रविधिमैत्री र व्यावसायिकताउन्मुख बनाउन नेपाल सरकार लागिरहेको स्मरण गराउँदै मन्त्री पौडेलले प्रविधिमैत्री पाठ्यक्रम, शिक्षासँगको तालमेल, दक्ष जनशक्ति उत्पादन र समृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । यसका लागि आन्तरिकको साथै बाह्य सहयोगको पनि आवश्यकता रहेको उहाँले बताउनुभयो ।
मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा पनि कोभिड–१९ ले ठूलो प्रभाव पारेको र त्यसको तयारीमा नेपाल चुकेको स्वीकार गर्दै अहिले भने अनलाइन शिक्षणको अभ्यास थालेको बताउनुभयो । भविष्यमा आइपर्नसक्ने त्यस्ता अवस्थालाई मध्यनजर गर्दै अबको शिक्षालाई प्रविधिमैत्री बनाउनतर्फ सरकार लागिरहेको उहाँको भनाइ छ ।
यस्तै, मन्त्री पौडेलले नेपालले आगामी जुलाईदेखि विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । सन् २०३० सम्म कायम रहने यो कार्यक्रममा अहिले भइरहेको शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै मुलधारका विवाद र विपद घटाउन मद्दत गर्ने उहाँले बताउनुभयो ।
मन्त्री पौडेलले कोभिड–१९ ले नेपालको शिक्षा प्रणाली र नीति, शैक्षिक संरचना र विषयवस्तुलाई समायानुकल परिवर्तनको महसुस गराउनुपर्ने अवस्थामा ल्याएको बताउनुभयो । यसका साथै समानताको नीति, अभिभावक र समुदायसँगको समन्वय, सुशासन, प्रविधिको उपयोग र शिक्षकको विकासको विषयमा पनि परिवर्तनको आवश्यकता रहेको उहाँको भनाइ छ ।
मन्त्री पौडेलले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा सूचीकृत गरेको भन्दै ८ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइरहेको पनि जानकारी गराउनुभयो । साथै उहाँले केही समयभित्रै माध्यमिक शिक्षालाई निःशुल्क गर्न सरकारले तयारी गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्