
बुटवल । बुटवलमा तिनाउ नदीकाे किनारका बस्ती नै बर्षा याममा जोखिममा पर्ने देखिएकाे छ।
तिनाउ नदीको बाढीबाट आफ्नो बस्ती जोगाउन जोखिम क्षेत्रका बुटवल बासिन्दाहरूले सरकारलाई आग्रह गरेका छन्। मनसुन सक्रिय हुन केही दिन बाँकी हुँदा बुटवलस्थित तिनाउ नदीको किनारमा रहेका बस्तीका बासीन्दा त्रसित बनेका छन्। हिउँदमा सुख्खा हुने तिनाउ नदी बर्षा याममा डरलाग्दो गरी उर्लिएर आउँछ र क्षति समेत गर्दै आएकाे छ।
पाल्पाको माडीबाट सुरु भएको तिनाउमा ३० वटा भन्दा बढी खहरे खोला मिसिएर बुटवल आइपुग्दा नदी किनारका बस्ती नै जोखिममा पार्ने गरी बाढी आउँछ । तिनाउ नदी किनारमा रहेका जोखिम क्षेत्रका बुटवल बासिन्दाहरू बाढी आएर तहस नहस बनाउने डरमा बसीरहेका छन् । तिनाउको बाढीबाट आफ्नो बस्ती जोगाउन उनीहरूले सरकारलाई आग्रह गरेका छन् ।
बुटवलको तिनाउ नदी किनारका बिनापाते, हात्तीसुँढ, तिनाउनगर, मजुवा, बुद्धनगर, प्रगतिनगर नदी उकास क्षेत्र हुन् । ३० हजार भन्दा बढी जनसंख्या रहेका यी बस्ती तिनाउमा आउने बाढीको उच्च जोखिम युक्त क्षेत्र हुन् । बर्षामा चुरेको गेग्रेटो र ढुंगासहित तिनाउमा आउने बाढीले यी बस्ती जोखिममा पर्छन् । विगतका बर्षामा भएकोे क्षति यसपटक नदोहोर्याउनका लागि बुटवल उपमहानगरपालिकाले सुरक्षाको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
२०५९ सालदेखि तिनाउ नदी किनारमा बस्ती बस्न थाले यता नदी अतिक्रमण बढेको छ भने अतिक्रमणसँगै जोखिम पनि बढ्दै गएको छ । जसका कारण तिनाउ नदीको बहाव क्षेत्र अधिकांश स्थानमा ३ सय मिटर मात्रै छ । नदीको बहाव क्षेत्र मानिने यो क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम कम गर्न र बस्ती जोगाउन बुटवल उपमहानगरपालिकाले तत्कालिक र दीर्घकालीन योजना बनाउने तयारी गरेको जानकारी गराउनुभएको छ ।
बुटवलमा तिनाउ उकास क्षेत्रमा स्थानीय सरकारले के काम गर्ने हो हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्